श्रोत : कान्तिपुर
श्रोत : कान्तिपुर
भक्तपुर, आश्विन ३० - मध्यपुर थिमीको बोडेस्थित ओमबहादुर खडाको कुखुरा फर्ममा बर्डफलुको भाइरस (एच५एन१) भेटिएको छ । केन्द्रीय भेटेनरी प्रयोगशालामा परीक्षण गर्दा उनको र्फमको कुखुरामा बर्डफलुको भाइरस भएको पुष्टि भएपछि नष्ट गरिएको हो । पशु सेवा निर्देशनालयका अनुसार नेपाल २४ औ पटक यस्ता भाइरस देखा परेको हो ।
परिक्षणबाट २६ गते राती मात्रै बर्डफ्लु संक्रमणको पुष्टि भएपछि सोमबार सात सय ८० कुखुरा नष्ट गरेको पशु स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक डा. नारायण घिमिरेले बताए । उक्त फार्म भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा पानी वितरण गर्ने प्रशोधन केन्द्रसंगै जोडिएको छ ।
खडाको फार्मका कुखुराको प्रारम्भिक परिक्षणबाट संक्रमण देखिएपछि जिल्ला बर्ड फयलु नियन्त्रण प्राविधिक समितिको बैठक बसेको थियो । बैठकले उक्त क्षेत्रलाई संक्रमणग्रस्त क्षेत्र घोषणा गरी फार्मका कुखुरा नष्ट गर्ने निर्णय गरेको हो । संक्रमण फैलन नदिन प्रशासनिक प्रक्रिया पुर्याएर सबै कुखुरा नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज भट्टराईले बताए । 'वरपर पनि निगरानी बढाइएको छ,' घिमिरेले भने । उनका अनुसार थप परिक्षणको लागि विदेशको प्रयोगशालामा पठाइएको छ ।
पशु प्राविधिकहरुका अनुसार, नेपालका प्रयोगशालाहरुमा पर्याप्त सुविधा नभएका कारण विदेशबाटै बार्ड फ्लु संक्रमण सुनिश्चित गर्नुपर्छ । नेपालमा प्रारम्भिक पुष्टिमात्रै गर्ने सुविधा छ । लक्षण देखिएपछि संकलित नमुनाको प्रारम्भिक परिक्षण गनृ ४८ घण्टाभन्दा बढी समय लाग्छ । संक्रमण फैलिएर जोखिम बढ्नसक्ने भएकाले तत्काल परिक्षण (र्यापिड टेष्ट) गरी पुष्टि गरेर कुखुरा नष्ट गरिएको प्राविधिकहरुको भनाई छ ।
फार्म नजिकै खुल्ला रुपमा रहेको प्रसोधन केन्द्र रहेकोले पानीमा पनि संक्रमित भाइरसन हुन सक्ने आशंका भएकाले पानीको समेत परीक्षण गर्न पठाएको घिमिरेले बताए । 'पानी परीक्षणका लागि पठाएका छौ, रिपोर्ट आउन बाँकी छ,'उनले भने ।
एक सातादेखि फार्मका कुखुरामा संक्रमण देखिन थालेको व्यवसायी खडाले बताए । उनका अनुसार असोज २१ मा पहिलो पटक ७ वटा कुखुरा मर । लगातार मर्न थालेपछि २३ गते परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको उनले बताए । करिव दुई हजार कुखुरा पालेको फार्ममा १२ सय कुखुरा आफै मरेको उनले बताए । टोलीले संक्रमणको जोखिम फैलन नदिन एक सय ५५ क्रेट अण्डा र ६ बोरा दाना पनि नष्ट गरेको छ । सरकारले व्यवसायीलाई प्रतिकुखुरा एक सय ३० रुपैया क्षतिपूति दिने भएको छ ।
घिमिरेको नेतृत्वमा गएको पशु विशेषज्ञ सहितको टोलीले सोमवार अपरान्हसम्म सबै कुखुरा नष्ट गरी सुरक्षित रुपमा गाडेको छ । दोलखा सुरी ७ स्थायी घर भएका खडकाले पाँच वर्षदेखि फार्म सञ्चालन गर्दै आएका छन् । उनका अनुसार अघिल्लो सातादेखि एकै खालको लक्षण देखिई कुखुरा मर्न थालेका थिए । 'झोक्राउने, दाना नखाने झोक्राउने, र्याल काढ्ने, हुदै गएको थियो' उनले भने, 'त्यहीबेलादेखि पशुका प्राविधिकहरुलाई खवर गरेको हुू ।'
बर्डफ्लुको लक्षण देखिए लगत्तै प्राविधिकहरुको टोली सहित प्रशासनले फार्मलाई संकटग्रस्त क्षेत्र घोषणा गरी कुखुरा नष्ट गर्न शुरु गरेको थियो । टोले फार्मका सबै टहरासमेत खाली गराई ब्याक्टेरिया र भाईरसको संक्रमण रोक्न विषादी सहित 'स्पे' गरेका थिए । एभियन इन्फ्लुएञ्जा आयोजनाबाट 'पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट' लगाएको टोलीले कुखुरा नष्ट गरेका थिए । टोलीमा कम जनशक्ति भएकाले खाडल खन्न लगाइएका कामदारलाई पनि सुरक्षित पोशाक दिएर कुखुरा पुर्न लगाइएको थियो ।
फ्लुको संक्रमणबाट जोगिन घटनास्थल वरपर आवतजावत नगर्न, वरपरका अरु फार्ममा निगरानी बढाउन स्थानियलाई सतर्क बनाइएको सहायक प्रजिअ भट्टराईले बताए । प्रशासनले फार्म क्षेत्रमा तीन महिनासम्म सर्वसाधारणको चहलपहलमा रोक लगाएको छ । 'वरीपरीका अन्य र्फमका कुखुरा बिक्रिमा पनि रोक लगाएका छौ,'उनले भने । आसपासमा चार वटा फार्म छन् । खडकाको र्फम संगैको अन्य चार वटा र्फममा पनि बर्ड फलुको आशंका गर्दै नमुना परीक्षणका लागि पठाइएको छ । भाइसर भए नभएको पुष्टि नभएकोले अन्य र्फमको कुखुरा नष्ट नगरेको पनि भट्टराईले बताए ।
फ्लुको संक्रमणबाट सयौं कुखुरा मरेको टहराको सय मिटरको दुरीमा रहेको अर्को फार्मलाई प्राविधिकहरुले केही नगरी छाडेका छन् । 'त्यो टहरामा केही लक्षण नदेखिएकाले कुनै एक्सन नलिइएको' एक प्राविधिकले बताए ।
पहिलो चरणको काम सकिएपछि फार्ममा कुखुराको सुली र अन्य अवशेषलाई सुरक्षित गर्नुपर्ने प्राविधिकहरु बताउछन् । उनीहरुका अनुसार, कुखुराको सुली र हावाबाट फ्लु सर्ने जोखिम निकै हुन्छ । चराहरुको अत्याधिक गतिविधी हुने विमानस्थलको ठिक पछाडीपट्ट पर्ने फार्ममा संक्रमण देखिएकाले घुमन्ते चराका कारण संक्रमण फैलिएको हुनसक्ने पशु प्राविधिहरुको आशंका छ । एक बर्ष अघि जडिबुट्टी स्थित मनोहरा पुल संगैको कुखुरा फार्ममा पनि बर्डफलुको भाइसर भेटिएको थियो । त्यस्तै छ महिनाअघि काठमाडौंको फर्पिङस्थित एक फार्ममा बर्ड फ्लु देखिएपछि १५ हजार कुखुरा नष्ट गरिएको थियो भने त्यसलगत्तै भैसेपाटीको एक फार्ममा ६ हजार कुखुरा मारिएको थियो । नेपालमा सन २००९ मा पहिलो पल्ट झापामा देखिएको थियो ।
कसरी जोगिने ?
डा. नारायण घिमिरे
बरिष्ठ पशू चिकित्सक
पशु स्वास्थ्य निर्देशनालयका
बर्डफ्लु भनेको एभियन इन्फ्लुयन्जा ए अर्थात् एच५एन१ नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग हो । यस प्रकारका भाइरसले छिट्टै आफनो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ । यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ । उक्त रोग पन्छीको सुलीबाट एकबाट अर्कोमा सर्छ । रोगी पन्छीको सुलीको प्रत्यक्ष सम्पर्कमा आए पशुपन्छी र मानिसमा सर्न सक्छ ।
रोगी पन्छीको मासु, अन्डा, सुलीलगायत बाहिर निस्किने पदार्थबाट रोग सर्छ । मासु चालाउँदा वा खोरमा काम गर्दा पनि सर्छ । बसाइ सर्ने चराको शरीरमा बर्डफलुका जीवाणु सुरक्षति रहन्छन् । फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्डफ्लु सर्छ । बर्डफलु संक्रमित चराहरु दस दिनपछि मर्न थाल्छन् । यस्ता चराको सम्पर्कमा आएका मानिसमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघा लागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ ।
कुखुरालाई सत प्रतिशत मार्न सक्दछ । बर्डफ्लु लागेको कुखुरा र हास खाना नखाई झोक्राउने, छेर्ने, सिउर र लोती सुनिएर रातो हुने, मुख सुन्निने, सास फेर्न कठिन हुने, केहीको खुट्टाको नली हाडमा रगत बगेको डाम देखिन्छ । रोग लागेको कुखुरा छोटो समयमा धेरै संख्यामा मर्ने गर्दछन । यो रोग लागेको हो होइन भन्ने बिशेष प्रविधिको प्रयोगशालाबाट परिक्षण गरेर मात्रै थाहा पाइन्छ । यो रोग लागेमा जुन लक्षण देखिन्छ त्यसैका आधारमा उपचार हुन्छ । बर्डफ्लुबाट बच्न पन्छी तथा पन्छीजन्य पदार्थ छोएपछि साबुन पानीले राम्रोसंग हात धुनु पर्छ । पन्छी छोएको हातले नाक कोट्याउने, आखा मिच्नु हुदैन । पन्छीको खोरमा काम गर्ने व्यक्तिले माक्स, पन्जा, गम्बुट र सुरक्षित कपडा लगाउनु पर्छ । खोरमा काम गर्दा छुट्टै कपडा लगाउनु पर्छ । मासु र अन्डा जस्ता पन्छीजन्य पदार्थलाई राम्रो संग पकाएर मात्रै खानुपर्छ । बिरामी पशु पन्छी सम्पर्कमा रहनु हुदैन । कुनै पन्छी बिरामी पर्ने, अस्वभाविक लक्षण देखाउने र ठूलो संख्यामा मरेमा नजिकको पशु सेवा कार्यालयमा जानकारीमा गराउनु पर्छ । सन् १९९७ मा हङकङमा यो रोग पंक्षीबाट मानिसमा सरेको प्रमाणित भएको थियो । यो रोग युरोप हुँदै विश्वव्यापी बनेको छ । नेपाल २००९ मा झापामा पहिलो पटक देखिएको थियो ।
काँचो अन्डा र कुखुराजन्य उत्पादन छोएपछि करिब २० सेकेन्डसम्म साबुन र तातोपानीले हात धुनु पर्छ । अन्डाको सेतो र पहेँलो भाग ठोस नबनुन्जेल उमालेपछि मात्र खानयोग्य हुन्छ । पन्छीजन्य उत्पादनको सम्पर्कमा आएका भाँडाकुँडा, चक्कुलगायत सामग्री पनि तातोपानी र साबुनले सफा गर्नुपर्छ । संक्रमित पन्छीहरुको जुनसुकै सम्पर्कबाट रोग सर्न सक्ने भएकाले त्यसबाट टाढै रहनु नै जोगिने एकमात्र उपाय हो ।
(कान्तिपुरकर्मी मकर श्रेष्ठसंग कुराकानीमा आधारित)
Comments
Post a Comment