स्वरोजगार शिक्षाले परिवर्तन भयो महिलाको जीवनयापन


भक्तपुर, १ असोज - भक्तपुरको सूर्यबिनायकमा बस्ने पार्वती तामाङको जीवनयापन अहिले फेरिएको छ । सिन्धुपाल्चोक ठूलो सिरुबारी बस्ने वर्ष ४३ की उहाँ अहिले महिला स्वरोजगार शिक्षा पाएर पढ्न र व्यवसायसंगै गर्न सक्ने हुनुभएको छ । बालबिकास समाजले आर्थिक अवस्था कमजोर भएका र गलैचा उद्योगमा काम गर्ने महिलाहरुको समूह बनाई महिला स्वरोजगार शिक्षा सुरु गरेपछि पार्वती जस्ता थुप्रै महिलाको जीवनमा परिवर्तन आएको छ ।
गाउँबाट काठमाडौं आउँदा उहाँलाई सामान्य अक्षर चिन्न र लेखपढ गर्न आउँदैनथ्यो । तर अहिले सडकका होडिङ बोर्डहरु पढ्न, बच्चाहरुलाई गृहकार्य गराउन र व्यवसायको हिसावकिताब राख्न सक्ने हुनुभएको छ उहाँ । तामाङ्ले बालबिकास समाजले स्थापना गरेको महिला बचत समूहबाट ऋण लिएर औषधि पसल सञ्चालन गर्नुभएको छ ।
आफ्नो जिविकोपार्जन गर्न गाउँबाट शहर छिरेका महिलाहरु गलैचा उद्योग, ईटाभट्टा र कारखानाहरुमा काम गर्ने गर्छन । दैनिक ज्यालादारीमा काम गर्ने उनीहरुलाई दैनिक घर खर्च धान्न समेत मुस्किल पर्ने गरेको छ । उनीहरुले कारखाना, गलैचा उद्योग र ईटाभट्टामा काम गरेर आफ्ना बच्चाहरुको स्वास्थ्य र शिक्षामा खर्च गर्न नसक्दा त्यस्ता बच्चाहरुको भविष्यमा प्रभाव पर्दै गएको एक तथ्याङ्कले देखाएको छ ।
बालबालिकाको क्षेत्रमा कार्य गर्दै आइरहेको बालबिकास समाजले यहि तथ्याङ्कलाई मध्यनजर गर्दै त्यस्ता महिलाहरुका लागि स्वरोजगार शिक्षा कार्यक्रम सञ्चालन ल्याएको समाजका निर्देशक युवराज रोक्काले बताउनुभयो । स्वरोजगार शिक्षा सञ्चालन भएपछि विभिन्न उद्योग र कारखानामा काम गर्ने यस्ता महिलाहरु पढ्न र व्यवसाय गर्न सक्षम भएका छन ।
विगत एक वर्षदेखि स्वरोजगार शिक्षा लिँदै आएकी मैया वाइवा अहिले चिया पसल राखेर अर्थोपार्जन गर्न सक्ने हुनुभएको छ । सूर्यबिनायकको एक गलैचा उद्योगमा काम गर्ने उहाँले एक वर्ष अघि महिला स्वरोजगार शिक्षा प्राप्त गरेपछि आफैले चिया पसल सञ्चालन गर्नुभएको छ । ‘अहिले तीन जना छोराछोरी पढाउन र खानलगाउन पुगेको छ ।’ वाइवा भन्नुहुन्छ ‘१० वर्ष अघि काठमाडौंमा गाडी चढ्दा ठाउँ थाहा नपाएर गलत ठाउँमा पुगेको अझै पनि सम्झना छ । तर दुई महिना अगाडि माइत जाँदा पथलैया लेखेको देखेर सहि ठाउँमा ओर्लन सकेपछि खुसी लाग्यो ।’
अहिले वाइबा पढ्न र बोल्न मात्र सक्षम होइन कि आमा बचत समूहको अध्यक्ष समेत हुनु भर्एको छ । त्यस्तै सिन्धुली कोपिलाकोट घर भई हाल सीपाडेल बस्दै आएकी २६ वर्षिय सञ्जु दोङलाई व्यवसाय भन्ने थाहा पनि थिएन । लेख्न पढ्न पनि आउदैन थियो तर, अहिले उनी व्यवसाय गर्न र पढ्न पनि सक्ने हुनुभएको छ ।
गलैचा उद्योगमा काम गर्ने महिलाहरुलाई छ महिना शैक्षिक गतिविधि र छ महिना स्वरोजगार गतिविधि गराई शिक्षा प्रदान गर्दै आइरहेको बालबिकास समाजले हालसम्म १ सय ६० जना महिलाहरुलाई शिक्षा र व्यवसायका क्षेत्रमा समावेश गराइसकेको छ ।
श्रम क्षेत्र, गलैचा उद्योग, उत्पीडित, दलित, एकल महिला लगायतलाई लक्षित गरि सञ्चालन गरिएको स्वरोजगार शिक्षा पाएका अधिकाशं महिलाहरुको शैक्षिक र आर्थिक अवस्थामा सुधार भएको छ । स्वरोजगार शिक्षा लिएर बच्चालाई पढ्न सिकाउनेसम्मको अवस्थामा पुगेकी वर्ष ३२ कि चरि घतानी महिला स्वरोजगार शिक्षाबाट आफ्नो जीवनमा आमूल परिवर्तन भएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ ‘सुरुमा त श्रीमानले पनि नजा भन्नुभयो, छिमेकीले पनि जिस्काए तर अहिले बच्चाको हात समातेर लेख्न र पढ्न सिकाउन सक्ने भएकी छु, बस स्टप चिन्न सक्ने भएकाले सजिलो भएको छ, अहिले आफैले व्यवसाय गरेकी छु । बिल लेख्न र हिसाब गर्न पनि सक्ने भएकी छु ।’
व्यवहारिक र व्यवसायिक शिक्षा पाएपछि अहिले महिलाहरु मैनबत्ति बनाउने, लुगा पसल राख्ने, मासु बेच्ने, तरकारी पसल राख्ने, चिया पसल खोल्न सक्षम भएको बालबिकास समाजका कार्यक्रम संयोजक किरण थापाले बताउनुभयो ।
उहाँले हाल १५ देखि ३० जनासम्मको विभिन्न ११ वटा समूह बनाई बालसहयोगी कार्यक्रम गरेको जानकारी दिनुभयो । थापाले महिलाहरुको व्यवसायीक आयआर्जनमा सहयोग गर्न समूहहरुबीचमा न्यूनतम बचत गर्न लगाउने र त्यहीबाट ऋण लिएर व्यवसायमा सहयोग गर्दै आएको बताउनुभयो । यो कार्यक्रम सुरु भएपछि सूर्यबिनायकमा रहेको शान्ति निकेतन माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीका अभिभावकले ल्याप्चे लगाएको हेर्न नपरोस् भनेर अभिभावकहरुका लागि यो शिक्षा संचालनमा ल्याएको छ ।
स्रोत :  उज्यालो अन्लाईन 

Comments