अज्ञात रोगले १२ घण्टामा ४ जनाको मृत्यु

सुरेश यादव, जनकपुर, भदौ २८ 

अज्ञात रोगको प्रकोपले धनुषाको पूर्वी गाविस बालाबाखरमा १२ घण्टा भित्र चार जनाको ज्यान गएको छ। बुधबार राति १० बजे यता मृत्यु हुनेमा धनुषा बालाबाखर- ८ का ३५ वर्षीय प्रदीप सदा, ४५ वर्षीया फुलकुमारी सदा, ४७ वर्षीया द्रोपदी सदा र ४० वर्षीया देवकीदेवी सदा छन् ।उनीहरुमध्ये तीन जनाको राति नै र एक जनाको आज बिहान ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सबैलाका इन्चार्ज प्रहरी निरिक्षक रमेश देवले जानकारी दिए।
त्यस्तै प्रकारको रोगले ग्रस्त ५ जनालाई गाउँमै पुगेको स्वास्थ्य टोलीले स्लाइन लगाएको छ। सोही वडाका ४५ वर्षीय महेन्द्र सदा, ४५ वर्षीया मंगलीदेवी सदा, ६० वर्षीय बेचन सदा, ३७ वर्षीय रामदेव सदा र ५५ वर्षीया अनारदेवी सदा सिकिस्त छन्। मुसहर समुदाय बस्ने दलित बस्तीको एउटै वडामा धमाधम मान्छे मर्न थालेको खबर बाहिर आएपछि उद्वारका लागि घटना स्थल पुगेको सबैला र धनुषाधाम स्वास्थ्य उपकेन्द्रका टोलीहरुले सिकिस्तहरुलाई उपचार थालेको हो।
जिल्ला जनस्वास्थ्य कार्यालयको टोली घटनास्थलतर्फ निस्केपनि यो समाचार तयार पार्दासम्म पुगिसकेको छैन। विज्ञ सहितको टोली घटनास्थल पुगेपछि मात्र रोगको पहिचान हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर गुरुङले जानकारी दिए।

Comments